
५ पुस २०७९,
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । मतदान भोली हुनेछ । दलको नेतामा दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।
उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिए ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा। शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी छ ।
मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुनेछ । त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ ।
मतदान भने भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।