
सामान खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल संखुवासभामा छानबिन थालेको छ।
अक्सिजन प्लान्ट जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको ३ महिनामै बन्द भएको थियो।
जिल्ला अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन थालेको जिल्ला अस्पतालले जनाएको छ।
तत्कालीन समयमा अक्सिजन प्लान्ट र ब्याकअप सिस्टम खरिदमा संलग्न भएका तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठमाथि छानबिनका लागि अख्तियारले छानबिन कागजपत्र र व्यक्तिगत विवरण मागेको मेडिकल सुपरिटेन्डेन्ट निर्मिका राईले जानकारी दिएकी छन्।
मेडिकल सुपरिटेन्डेन्ट राईका अनुसार अख्तियारले माग गरेका कागजपत्र भोलि (बुधबार) सम्म बुझाउन समय दिइएको छ। तत्कालीन मेसु र प्रशासन प्रमुख सामग्री खरिदमा संलग्न थिए।
जिल्ला अस्पतालमा प्रदेश सरकारको ६८ लाख ५० हजार रूपैयाँ सहयोगमा अक्सिजन प्लान्ट खरिद गरी जडान गरेको थियो। २०७८ कात्तिक दोस्रो साता जडान गरेको अक्सिजन प्लान्ट माघसम्म चलेको थियो।
अक्सिजन प्लान्ट जडानको ठेक्का प्रविधि इन्टरनेशल इन्क प्रालि काठमाडौंले पाएको थियो। अक्सिजन प्लान्ट ३ महिना नबित्दै बिग्रेको थियो। ३ लाख ९८ हजार २ सय रूपैयाँमा किनेको ब्याकअप सिस्टममा समेत अनियमितता भएको भन्दै छानबिन थालेको छ।
डिजिटल टेक्नोलजी कम्पनी प्रालि काठमाडौंले अस्पतालको ब्याकअप सिस्टम उपलब्ध गराएको थियो। लाखौं खर्च गरेर ल्याएको अक्सिजन प्लान्ट सञ्चालन नभएको भन्दै पटक पटक कारवाहीको मागसमेत राखेका थिए।
अनियमितताको आरोप लागेका श्रेष्ठलाई केही महिनाअघि प्रशासन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो। तत्कालीन प्रशासन प्रमुख श्रेष्ठमाथि पटक पटक अनियमितताको आरोप लाग्दै आएको थियो।