
बुधबार, आषाढ ०६, २०८०
एकदिवसीय विश्वकप छनोट क्रिकेटमा अमेरिकालाई नेपालले ६ विकेटले पराजित गरेको छ । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेटेको हो ।नेपालको जितका लागि भीम सार्कीले नटआउट ७७ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो ।दीपेन्द्रसिंह ऐरीले ३२ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन जोडे । ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन जोडे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे । अमेरिकाका सौरभ नेत्रावाल्कर, नोस्थुस केन्जिगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए ।जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो । अमेरिकाका लागि सयन जंहागीर १०० रनमा अविजित रहे । अमेरिकाको सुरुवात भने खराब थियो । पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो । सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हालेका थिए ।
नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।