
मंगलबार, असोज २३, २०८०
\इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएकोमा आज राष्ट्रिय शोक मनाइँदैछ ।सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।गएको शनिवार हमास समूहले गरेको आक्रमणमा ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गर्नुका साथै ज्यान गुमाएका विद्यार्थीको परिवारलाई १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय पनि भएको थियो । इजरायलमा रहेका नेपालीको सुरक्षा, नेपाल फिर्तीलगायतका बारेमा तदारुकताका साथ काम गर्ने निर्णय पनि सरकारले गरेको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार हालसम्म २ सयभन्दा धेरै नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन् ।