
स्व। कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
आयोजक द योङ ब्रदर्श क्लब इटहरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै केराबारी अन्तिम चारमा प्रवेश गरेको हो ।खेलको ३ मिनेटमै आयोजकका लागि फासाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको ७ औँ मिनेटमा केराबारीका भुवन बस्नेतले जवाफी गोल फर्काए ।खेलको १० मिनेटमै पुनः आयोजकका तर्फबाट फासाले नै गोल थपे । पहिलो हाफको इञ्जुरी समयमा केराबारीका लागि नितेश लिम्बूले थप १ गोल गरे । पहिलो हाफमा २–२ बराबरीमा टुंगिएपनि हाफपछि भने केराबारीले २ गोल थप्यो खेलको ५० औँ मिनेटमा केराबारीका लागि नितेश लिम्बूले पुनः १ गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५५ औँ मिनेटमा केराबारीकै लागि विशाल तामाङले थप १ गोल गरे ।
यसैगरी आयोजकका लागि खेलको ५७ औँ मिनेटमा उमेश राईले थप १ गोल गरे । खेलको म्यान अफ दि म्याच केराबारीका नितेश लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।कोशी प्रदेशस्तरीय प्रतियोगिता बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा उद्घाटन भएको हो । उद्घाटन खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।