
३ पुस २०७९
विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल उत्रदै गर्दा दुवै टोलीको लक्ष्य तेस्रो पटक च्याम्पियन बन्ने हुनेछ ।
आजको खेललाई लियोनल मेस्सीको भविष्यसँग पनि जोडेर हेरिएको छ । मेस्सीले अर्काे विश्वकप नखेल्ने बताइसकेका छन् । यो पटक विश्वकप जितेर उनी आफ्नो सानदार बिदाई चाहान्छन् ।
२३ वर्षीय किलिएन एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । मेस्सी आफ्नो करियरको उत्तरार्धमा छन् भने एमबाप्पे भने मेस्सी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टारको रुपमा उदाइरहेका छन् । अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ, मेस्सीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् ।
फ्रान्सले जिते ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछिको पहिलो खेलाडी बन्नेछन् ।
साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेस्सीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।
१९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । २०१४ मा फाइनल पुगे पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।
हेड टु हेड
फ्रान्स र अर्जेन्टिनाबीचको विगत अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कुल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । तीन खेल बराबरीमा टुङ्गिएको थियो ।
विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।
पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४– ३ ले पराजित गरेको थियो । चार वर्षपछि अर्जेन्टिनालाई त्यसको बदला लिंदै च्याम्पियन बन्ने अवसर छ । २०१८ अघि विश्वकपमा दुई पटक भेट हुँदा भने अर्जेन्टिना विजयी भएको थियो ।