
मंगलबार, जेठ १६, २०८०
सेमन्त उपाध्याय
…………………….
कृषिप्रधान देश रे
किसान आफै भोको छ
गाउँको घर चुहिएको छ
बुहारी सहरमा टिकटक बनाउँछे
छोरोले के सपना देख्यो खै
घोडा र धुरी छुट्याउनै सकेन
घरि मुर्झिन्छ त घरि बेहोस
बाले जिम्मेदारीको काँध फेर्नै पाएनन्
आमाको चोली खै कसले देख्यो
खै के भाको
बेफ्वाँक छिमेकी डाहा गर्छ
फल्छन् फलाउन जन्मेकाहरू
गल्छन् गलाउनेहरू
कविले निराश कविता सुनाउँछ
डिप्रेसनमा छ गीतकार
नर्तकीले साप्रो देखाउँछे
शिक्षकले नैतिक शिक्षाको
डेमो देखाएर
राशलीला गर्छ
खै के भाको
जनता भुटानी शरणार्थी हुन करोडौँ तिर्छ
संगठित भ्रष्टाचार नेताले गर्छ
अर्को नेतृले आँखा तर्छे
निरीह जेलमा सड्छ
जनता निराश छन्
ऊर्जा कसले भर्छ
भरोसा कसले गर्छ के भाको
अस्पताल स्वयम् बिरामी छ
मालपोतले माल पोतिरहेकै हुनुपर्छ
भन्सार त टुक्रो हो
सुन भन्दा मूल्यवान छ
पालिकाको अगाडि नगर छ
‘उप’ छ ‘महा’ छ
प्रदेश ‘पर देश’ भएको छ
गाउँ गाउँमा दरबार र सिंह छन्
न भाइदार सुरक्षित, न त जनावर
खै के भाको
नयाँ जोगीले ज्यादा खरानी धस्छ
स्टण्ट गर्छ
हजमोलाले नपच्ने कुरा गर्छ
न अध्ययन छ, न अनुभव
भ्रमको खेती छर्छ
के उत्पादन होला र यहाँ
आशालाई आशक्ति ठानेपछि
गाउँकै भ्रष्ट
सहर कसरी पस्यो
मानवता र नैतिकता सबै गुमाएर
यो पाखण्डी के भाको
अहिले आएर थाहा पाएँ,
राजनीति किन गर्छ
सेमन्त उपाध्याय
इटहरी–५, सुनसरी