
शनिबार, ९ मंसिर २०८०
सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखौ रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ । बचतकर्ताहरूले पटक पटक रकम फिर्ताको माग गर्दै प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय इनरुवामा दबाब मूलक कार्यक्रमहरू गर्दै आएका थिए ।बचतकर्ताहरूकै समूहबाट दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए । सो कार्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पाँचै जनालाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अम्बे सहकारीलाई ५ हजार बढी बचतकर्ताहरूको ४२ करोड बढी रकम अपचलन गरेको आरोप छ ।






